Latest news
थाइल्याण्डको प्रहरी टिममा रोबोट प्रहरी पनि समावेश, खेलौना बन्दुक र वास्तविक बन्दुक छुट्याउन सक्ने
थाइल्याण्डको रोयल प्रहरीले आफ्नो टोलीमा एक रोबोट प्रहरीलाई समावेश गरेको छ । यस रोबोट प्रहरीको नाम एआई पुलिस साईबोर्ग १.० राखिएको छ । रोबोट प्रहरीलाई मुआंग जिल्ला अन्तर्गत टोनसन रोडमा तैनाथ गरिएको जानकारी दिइएको छ ।
सार्वजनिक तस्वीरमा यो रोबोट प्रहरी वर्दीमा देखिएको छ । यस रोबोकपका विशेषताहरू यति अत्याधुनिक छन् कि सुनेर जोकोही चकित पर्न सक्छ । यो रोबोट प्रहरीलाई प्रोभिन्सियल पुलिस कमाण्ड ७, नाखोन पाथोम प्रोभिन्सियल पुलिस र नाखोन पाथोम नगर निगमको संयुक्त प्रयासमा तैनाथ गरिएको हो ।
यसमा धेरै प्रकारका उन्नत प्रविधिहरू जडान गरिएको छ । यसमा वरपर रहेका सीसीटीभी क्यामेरा, ड्रोन र एआई प्रविधिबाट जोडिएको ३६० डिग्री क्यामेरामा पहुँच गर्ने क्षमता छ । यसले सजिलै अनुहारको पहिचान गर्न, व्यक्तिको व्यवहारको मूल्यांकन गर्न र हतियारको पहिचान गर्न सक्छ ।
विज्ञहरूका अनुसार यसको भिडियो एनालिटिक्स यति उन्नत छ कि यसले सजिलै खेलौना बन्दुक र वास्तविक बन्दुकको बीचमा फरक छुट्याउन सक्छ । साथै, यसमा हिंसात्मक व्यवहार बुझ्ने पनि अद्भुत क्षमता छ ।
कसरी काम गर्छ ?
रोयल थाईल्यान्ड पुलिसको फेसबुक पोस्ट अनुसार यो एआई पुलिस सायबोर्ग १.० लाई कमाण्ड र कन्ट्रोल सेन्टरसँग जोडिएको छ । यसका माध्यमबाट नागरिकहरूको सुरक्षा सुनिश्चित गरिनेछ। नागरिकहरूको सुरक्षा नै यो रोबोट प्रहरीको मुख्य उद्देश्य हो ।
रिपोर्टहरू अनुसार यस्ता रोबोट प्रहरीहरूको प्रयोग विशेष कार्यक्रमहरूमा सुरक्षा व्यवस्थाका लागि गर्न सकिनेछ । यसले सामान्य प्रहरीले अझ प्रभावकारी रूपमा काम गर्न सजिलो बनाउनेछ। साथै, यसले चौबीसै घण्टा निगरानी राख्न सहज बनाउनेछ ।
यता केही व्यक्तिहरूले यो रोबोट प्रहरीलाई अधिकारकर्मीहरू (एक्टिभिस्ट) का विरुद्ध प्रयोग गरिने हतियारको रूपमा हेरेका छन् । पछिल्लो समयमा त्यस्ता घटनाहरू देखिएका छन्, जहाँ रोयल थाईल्यान्ड प्रहरीले प्रदर्शनकारीहरूविरुद्ध कारबाही गरेको देखिएको थियो ।
यद्यपि, विज्ञहरू बताउँछन् कि थाईल्यान्डको यस रोबोट प्रहरीमा धेरै क्षमता भए पनि हालका लागि यसले आफैं हिँडडुल गर्न सक्दैन् । त्यसैले यसलाई एउटै स्थानमा स्थिर राखेर मात्र प्रयोग गरिनेछ । त्यसैले यस्तो रोबोट प्रहरीबाट अहिले धेरै डराउनु पर्ने अवस्था छैन् ।