काठमाडौं । गुगलले आफ्नो AI एप Gemini लाई अझ स्मार्ट बनाएको छ । कम्पनीले ‘Personal Intelligence’ नामको नयाँ फिचर सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई पहिलेभन्दा बढी व्यक्तिगत र सन्दर्भ अनुसारका जवाफ दिन मद्दत गर्छ । यो फिचर पहिले अमेरिकामा मात्र उपलब्ध थियो ।
यस नयाँ फिचरको मुख्य विशेषता भनेको विभिन्न गुगल एपहरूलाई आपसमा जोडेर काम गर्न सक्नु हो । अब प्रयोगकर्ताले Gmail, Google Photos, YouTube र Google Search जस्ता सेवाहरूलाई Gemini सँग कनेक्ट गर्न सक्छन् । एकपटक कनेक्ट गरेपछि, Gemini ले यी सबै प्लेटफर्मबाट आवश्यक जानकारी लिएर अझ सटीक र उपयोगी जवाफ दिन्छ ।
उदाहरणका लागि, यदि तपाईंले आफ्नो कुनै यात्राबारे सोध्नुभयो भने, Gemini ले तपाईंको इमेल, फोटो र सर्च हिस्ट्री हेरेर एकै ठाउँमा सबै विवरण दिन सक्छ । यसले गर्दा छुट्टाछुट्टै एप खोल्नुपर्ने झन्झट हट्छ र काम सजिलो हुन्छ । यो टेक्स्ट, इमेज र भिडियो जस्ता विभिन्न प्रकारका डाटालाई जोडेर जवाफ दिने भएकाले अझ उपयोगी बनेको छ ।
गोपनीयतालाई ध्यानमा राख्दै, गुगलले यो फिचर डिफल्ट रूपमा बन्द रहने जनाएको छ । प्रयोगकर्ताले आफूलाई आवश्यक पर्ने एपहरू मात्र कनेक्ट गर्न सक्छन् र जुनसुकै बेला यो फिचर बन्द पनि गर्न सक्छन् ।
कम्पनीका अनुसार, यो डाटा केवल प्रयोगकर्ताका प्रश्नहरूको जवाफ दिनका लागि मात्र प्रयोग गरिन्छ, यसलाई सिधै AI मोडेल ट्रेन गर्न प्रयोग गरिँदैन ।
यससँगै, Gemini ले जवाफ दिन प्रयोग गरिएको स्रोत पनि देखाउँछ, जसले गर्दा प्रयोगकर्ताले सजिलै सत्य तथ्य छुुट्याउन सक्छन् । यदि कुनै जवाफ सही नलागेमा, प्रयोगकर्ताले त्यसलाई सच्याउन पनि सक्छन्, जसले भविष्यमा नतिजालाई अझ सुधार्न मद्दत गर्छ ।
हाल यो फिचर Google AI Plus, Pro र Ultra सदस्यताधारी प्रयोगकर्ताका लागि उपलब्ध छ । प्रयोगकर्ताले यसलाई वेब, एन्ड्रोइड र iOS प्लेटफर्ममा प्रयोग गर्न सक्छन् र Gemini एपको सेटिङ्समा गएर यसलाई सक्रिय गर्न सक्छन् ।
आईसीटी समाचार