कीवर्डहरू -

मेटाले घटाउँदै १० प्रतिशत जनशक्ति, बढाउँदै एआईमा अर्बौं लगानी

मेटाले घटाउँदै १० प्रतिशत जनशक्ति, बढाउँदै एआईमा अर्बौं लगानी

काठमाडौं । मेटाले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी तीव्र बनाउने रणनीतिसँगै कर्मचारी कटौतीको अर्को चरण सुरु गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्पनीले हजारौं कर्मचारीलाई जागिर समाप्त भएको जानकारी इमेलमार्फत दिन थालेको हो ।

प्रतिवेदनअनुसार मेटाले आफ्नो विश्वव्यापी रुपमा कार्यरत करिब १० प्रतिशत कर्मचारी घटाउने तयारी गरेको छ । यसक्रममा सबैभन्दा पहिले सिंगापुरस्थित कार्यालयका कर्मचारी प्रभावित भएका छन् । त्यहाँका कर्मचारीले बिहान सबेरै इमेलमार्फत जागिर गुमाएको सूचना प्राप्त गरेका थिए ।

मार्क जुकरबर्ग नेतृत्वको कम्पनीले पछिल्लो समय कृत्रिम बौद्धिकता प्रविधिमा अर्बौं डलर लगानी गर्ने योजना अघि सारेको छ । कर्मचारी संख्या घटाएर कम्पनीले एआई सम्बन्धी परियोजनामा स्रोत केन्द्रित गर्न खोजेको विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसार मेटाले विभिन्न समय क्षेत्रमा रहेका कर्मचारीलाई चरणबद्ध रूपमा इमेल पठाइरहेको छ । केही समयअघि कम्पनीमा विश्वभर करिब ७८ हजार कर्मचारी कार्यरत रहेकामा पछिल्ला महिनामा यो संख्या निरन्तर घट्दै गएको छ ।

मेटाले मात्र होइन, विश्वका अन्य ठूला प्रविधि कम्पनीहरूले पनि एआई विस्तारलाई प्राथमिकता दिँदै कर्मचारी कटौतीलाई तीव्र बनाएका छन् । गुगल, माइक्रोसफ्ट, अमेजन र ओराकलजस्ता कम्पनीहरूले समेत यसअघि ठूलो संख्यामा कर्मचारी हटाइसकेका छन् ।

तथ्यांकअनुसार सन् २०२६ को सुरुआती महिनामै विश्वभरका प्रमुख प्रविधि कम्पनीहरूले ९० हजारभन्दा बढी कर्मचारी कटौती गरिसकेका छन् । मेटाले कर्मचारी कटौतीसँगै करिब सात हजार कर्मचारीलाई कृत्रिम बौद्धिकतासम्बन्धी परियोजनामा स्थानान्तरण गर्ने योजना पनि बनाएको बताइएको छ ।

कम्पनीले साना टोलीमा व्यवस्थापकीय तह घटाउने तयारी समेत गरिरहेको छ । यसको सबैभन्दा बढी असर इन्जिनियरिङ तथा उत्पादन विकास विभागमा पर्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार आगामी महिनाहरूमा पनि प्रविधि क्षेत्रमा यस्तै पुनर्संरचना जारी रहने सम्भावना छ ।

मेटा अहिले परम्परागत एआई प्रणालीभन्दा अगाडि बढेर ‘एजेन्टिक एआई’ विकासमा केन्द्रित रहेको बताइएको छ । कम्पनीले प्रयोगकर्ताको आवश्यकता बुझेर स्वत: काम गर्न सक्ने डिजिटल सहायक प्रणाली निर्माण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

हालैको एक प्रतिवेदनअनुसार मेटाले व्यक्तिगत आवश्यकता अनुसार काम गर्ने नयाँ एआई सहायक विकास गरिरहेको छ, जसले कम्पनीका अर्बौं प्रयोगकर्ताको दैनिक डिजिटल गतिविधिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।