कीवर्डहरू -

पिन्टरेस्टको एआई विज्ञापन रणनीति : साना व्यवसायलाई डिजिटल बजारमा जोड्ने नयाँ प्रयास

पिन्टरेस्टको एआई विज्ञापन रणनीति : साना व्यवसायलाई डिजिटल बजारमा जोड्ने नयाँ प्रयास

काठमाडौं । साना तथा मझौला व्यवसाय (एसएमबी) लाई आफ्नो प्लेटफर्ममा थप आकर्षित गर्ने उद्देश्यसहित पिन्टरेस्टले दुई नयाँ एआई आधारित विज्ञापन सुविधा सार्वजनिक गरेको छ । कम्पनीले विज्ञापन प्रविधिलाई अझ प्रभावकारी बनाउँदै ‘पर्फोमेन्स प्लस न्यू कस्टमर एक्विजिसन’ र शपिङ प्लेटफर्म शपिफाइ प्रयोगकर्ताका लागि ‘वान–क्लिक पर्फोमेन्स प्लस शपिङ’ फिचर सार्वजनिक गरेको हो ।

पिन्टरेस्टले यसअघि ल्याएको ‘पर्फोमेन्स प्लस’ प्रणालीलाई परिमार्जन गर्दै नयाँ सुविधाहरू थप गरेको हो । नयाँ उपकरणमार्फत व्यवसायीहरूले सम्भावित ग्राहक पहिचान गर्न, विज्ञापन खर्च व्यवस्थापन गर्न र बिक्री विस्तार गर्न एआई प्रविधिको प्रयोग गर्न सक्नेछन् ।

पहिलो सुविधा ‘पर्फोमेन्स प्लस न्यू कस्टमर एक्विजिसन’ले व्यवसायीलाई नयाँ ग्राहक खोज्न सहयोग गर्नेछ । यसमा विज्ञापनदाताले आफ्ना पुराना ग्राहकहरूको विवरण पिन्टरेस्ट प्रणालीमा अपलोड गर्न सक्नेछन् । त्यस आधारमा एआईले विद्यमान ग्राहकहरूको रुचि, गतिविधि र व्यवहारसँग मिल्ने सम्भावित नयाँ ग्राहक पहिचान गर्नेछ ।

त्यसपछि प्रणालीले यस्ता प्रयोगकर्तालाई पहिलो पटक लक्षित गरी विज्ञापन देखाउनेछ । पिन्टरेस्टका अनुसार आन्तरिक परीक्षणका क्रममा यो प्रविधि प्रयोग गर्दा नयाँ ग्राहक थपिने दरमा औसत ६४ प्रतिशत वृद्धि देखिएको छ ।

यसैगरी, दोस्रो सुविधा ‘वान–क्लिक पर्फोमेन्स प्लस शपिङ’ विशेष रूपमा शपिफाइमा आधारित व्यापारीहरूलाई ध्यानमा राखेर विकास गरिएको हो । यो प्रविधिले व्यापारीहरूलाई पिन्टरेस्टको ‘एड्स म्यानेजर’ वा शपिफाइ एकाउन्टबाटै एक क्लिकमा नयाँ विज्ञापन अभियान सुरु गर्ने सुविधा दिनेछ ।

यस फिचरमा विज्ञापन सञ्चालनका लागि आवश्यक प्रमुख सेटिङ र प्रविधिहरू स्वचालित रूपमा समावेश गरिएका छन्, जसले व्यापारीहरूको समय र व्यवस्थापन लागत घटाउने अपेक्षा गरिएको छ ।

चालु वर्षको पहिलो त्रैमासिकमा अपेक्षित आम्दानी हासिल गर्न नसकेपछि पिन्टरेस्टले साना व्यवसायी र अन्तर्राष्ट्रिय बजारलाई प्राथमिकतामा राख्दै एआईमा आधारित विज्ञापन रणनीतिलाई तीव्र बनाएको हो ।