कीवर्डहरू -

स्पोटिफाईमा एआई च्याट फिचर, कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने

स्पोटिफाईमा एआई च्याट फिचर, कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने

काठमाडौं । संगीत स्ट्रिमिङ सेवा स्पोटिफाईले आफ्ना प्रिमियम सदस्यका लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित नयाँ च्याट फिचर सार्वजनिक गरेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले एपसँग प्राकृतिक भाषामा संवाद गर्दै आफूले चाहेको गीत, एल्बम वा कलाकार सहजै खोज्न र बजाउन सक्नेछन् ।

हाल यो सुविधा परीक्षण (बिटा) चरणमा रहेको छ । प्रारम्भिक रूपमा अमेरिका, आयरल्यान्ड र स्विडेनका प्रिमियम प्रयोगकर्ताले मात्र यसलाई एन्ड्रोइड र आईओएस उपकरणमा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताले अंग्रेजी भाषामार्फत यो सेवा उपयोग गर्न पाउनेछन् ।

नयाँ एआई च्याट फिचर स्पोटिफाईको होम तथा ‘नाउ प्लेइङ’ स्क्रिनबाट प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले टाइप गरेर वा आवाजमार्फत प्रश्न सोध्न सक्छन्, जसको आधारमा एआईले गीत, कलाकार वा एल्बमसम्बन्धी जानकारी उपलब्ध गराउँछ ।

यसले प्रयोगकर्ताको सुन्ने बानी (लिसनिङ हिस्ट्री) का आधारमा व्यक्तिगत सुझाव पनि दिन्छ । साथै, कुनै गीत वा एल्बम कहिले सार्वजनिक भएको हो, कलाकारबारे जानकारी, तथा नयाँ संगीत सिफारिसजस्ता विवरण पनि एआईमार्फत प्राप्त गर्न सकिन्छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले एआईसँग कुराकानी गर्दै गीत प्ले गर्न, प्लेलिस्टमा थप्न, क्युमा राख्न वा मनपर्ने कलाकारलाई फलो गर्नसमेत सक्नेछन् । यसले संगीत खोज्ने र व्यवस्थापन गर्ने प्रक्रिया अझ सहज बनाउने विश्वास गरिएको छ ।

स्पोटिफाईले यो फिचर विकास गर्न आफ्नै एआई प्रविधिसँगै अन्य अत्याधुनिक एआई मोडलहरूको पनि प्रयोग गरेको जनाएको छ । यसअघि कम्पनीले एआई डीजे र एआई प्लेलिस्टजस्ता सुविधा सार्वजनिक गरिसकेको छ, जसले प्रयोगकर्ताको रुचिअनुसार संगीत अनुभवलाई थप व्यक्तिगत बनाउने प्रयास गर्दै आएको छ ।