काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा निजी सन्देश (DM) मार्फत मेटा एआई च्याटबोट उपलब्ध गराउन थालेको छ । यससँगै प्रयोगकर्ताले अब थ्रेड्सको इनबक्समै मेटा एआईसँग प्रत्यक्ष तथा निजी रूपमा कुराकानी गर्न सक्ने भएका छन् ।
यसअघि केही देशका प्रयोगकर्ताले सार्वजनिक पोस्टमार्फत मात्र मेटा एआई प्रयोग गर्न पाउने सुविधा उपलब्ध थियो । नयाँ अपडेटपछि भने प्रयोगकर्ताले डीएमभित्रै एआईसँग संवाद गर्न, प्रश्न सोध्न तथा विभिन्न कार्यमा सहयोग लिन सक्नेछन् ।
मेटाले प्रयोगकर्तालाई आफ्नै प्लेटफर्मभित्र थप समय सक्रिय राख्ने रणनीतिअन्तर्गत थ्रेड्सको डीएममा पनि मेटा एआई समावेश गरेको हो । यसअघि मेटा एआई फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका निजी सन्देशमा समेत उपलब्ध भइसकेको छ ।
नयाँ सुविधामार्फत प्रयोगकर्ताले पोस्ट, तस्बिर, लिङ्क तथा भिडियो सिधै मेटा एआईसँग साझा गर्न सक्नेछन् । कम्पनीका अनुसार यो सुविधा विश्वभर चरणबद्ध रूपमा विस्तार गरिनेछ ।
साथै, सार्वजनिक फिडमा मेटा एआईको परीक्षण केही देशमा जारी रहने र प्रयोगकर्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा यसलाई थप देशमा विस्तार गरिने मेटाले जनाएको छ ।
आईसीटी समाचार